बीपीको अप्रकाशित अन्तर्वाता
(भारतीय अध्येता हरिदेव शर्माले बीपीसँग लिएको अन्तर्वाताको अंग्रेजी मूल कपी नयाँ दिल्लिस्थित नेहरु मारक संग्रहालयमा सुरक्षित छ । प्रदीप गिरिको सौजन्यबाट प्राप्त यो अन्तर्वार्ताको नेपाली अनुवाद गोपालप्रसाद दुलालले गरेका हुन् । )
कोइरालाजी प्रधानमन्त्री छँदा तपाईले नेपालको विकासका लागि कस्तो आर्थिक योजना बनाउनुभएको थियो ?
हामीले खास्यैँ योजना बनाएका थियौँ । सबैभन्दा पहिले हामी कृषिमा विशेष किसिमले सुधार गरेर विकास योजना लागू गर्न चाहन्थ्यौँ । भन्नुको तात्पर्य, हामी कृषि क्षेत्रमा विशेष प्रकारको पुनर्सरचना गर्न चाहन्थ्यौँ । हामी खेती हुने जमिनको स्वामित्वमा हदबन्दी तोक्न चाहन्थ्यौ र जोताहालाई जमिनको मालिक बनाउन चाहन्थ्यौँ । निश्चय पनि हामीसँग वितरण गर्नका लागि यथेष्ठ जमिन थिएन । तैपनि हाम्रो भूमिसुधार योजना वास्तविक किसानको भलाईतर्फ लक्षित थियो । पाँचजना सदस्य भएको किसान परिवारलाई दशदेखि पँच्चीस बिघासम्म जमिन राख्न दिने हाम्रो योजना थियो । खासमा, दस बिघा जमिनबाट पच्चीसजनासम्म सदस्य भएको परिवारको गुजार हुनसक्थ्यो । तर पच्चीस विघाको हदबन्दीभन्दा बढी जमिनसमेत हामीले खोसेका थिएनौँ । हाम्रो विघा धेरै ठूलो हुन्छ, एक एकड क्षेत्रफलभन्दा पनि ठूलो हन्छ, तर्सथ, एउटा परिवारका लागि हद–बाह्र एकड जमिन पर्याप्त हुन्छ, त्यति जग्गा अति उपयुक्त हुन्छ भनेर हामी पच्चीस बिघाको हद तोक्ने निर्णयमा पुगेका थियौ । त्यसको साथसाथै हामीले प्रगतिशील कर प्रणाली पनि लागू गरेका थियौँ । त्यसको साथसाथै हामीले प्रगतिशील कर प्रणाली पनि लागू गरेका थियौँ । मैले करको दर विर्सिएँ, तर त्यो कर दुई सय विघाभन्दा बढी जमिन कसैले पनि राख्न खोज्दैन भन्ने हामीले सोचेका थियौँ । त्यो कर लागू भएपछि कुनै अवस्थामा कसैले पनि दुई सय विघाभन्दा बढी जमिन राख्न सक्ने थिएन । हामी यसमा जोड दिन चाहन्थ्यौँ । बास्तविक किसान नै हाम्रो प्रजातान्त्रिक समाजका मेरुदण्ड हुन सक्थे । तसर्थ, उनीहरुसँग जमिन हुने अवस्था सिर्जना गर्नु हाम्रो भूमिसुधारको लक्ष्य थियो । जमिनको उत्पादन बढाउने पनि हाम्रो योजना थियो । तसर्थ, जमिन वितरण गरिसकेपछि वा जमिनको स्वामित्वमा हदबन्दी लगाइसकेपछि सिँचाइमा ध्यान दिने र सिँचाई आयोजनामा प्राथमिकताका साथ लगानी गर्ने हाम्रो उद्देश्य थियो ।
भारतको अनुभव हाम्रा लागि त्यति उत्साहजनक थिएन । भारतले कृषि क्षेत्रमा वास्तविक पुनर्सरचना गरेन भन्ने हामीलाई लागेको थियो । त्यसबाहेक हामी भूमिलाई राष्ट्रिकरण गर्ने पक्षमा पनि थिएनौँ । हामी व्यक्तिहरुको जमिन राख्ने चाहना र जमिनको उत्पादन दुवै बढाउन चाहन्थ्यौँ । हाम्रो पहिलो उद्देश्य त्यही थियो भने पनि हुन्छ । त्यसका लागि हामीसँग पर्याप्त पुँजी थिएन । त्यसका लागि म भारत गएँ, चीन पनि गएँ । मैले हाम्रा समस्याहरुको विषयमा अमेरिका, रुस र अरु देशका नेताहरुसँग पनि छलफल गरेँ । चीन, भारत र अरु सबै देशमा पनि नेपालका लागि सद्भावना कोष स्थापना भएको थाहा पाउँदा म उत्साहित र अचम्मित दुवै भएँ । चीनमा पनि त्यस्तो कोष स्थापना भएको रहेछ । भारतको समाजवादी आन्दोलनमा आफू आवद्ध भइसकेको हुँदा त्यहाँबाट सहयोग पाउनेमा म ढुक्कजस्तै थिएँ । तसर्थ, मेरो बढी चासो चीनतर्फ थियो । चीनले तिब्बत कब्जा गरेपछि हाम्रो दलले एउटा भत्र्सना प्रस्ताव पारित गरिसकेको थियो । तसर्थ, उनीहरुबाट म टाढिएको थिएँ । तर उनीहरु धेरै समझदार थिए । विकासका सन्दर्भमा हामी ठूलाठूला कारखाना स्थापना गर्न इच्छुक थियौँ । हामी कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्न चाहन्थ्यौँ । अर्थात् हामी आधारभूत रुपमा कृषिसँग समबन्धित उद्योगहरु स्थापना गर्न चाहन्थ्यौ । खासमा, हामी आफ्नो देशलाई शक्तिशाली होइन, अत्यन्त्र खुसी र आत्मनिर्भर राष्ट्र बनाउन चाहन्थ्यौँ । कृषिजन्य सम्पदाको सदुपयोग गरेर मात्र हामी त्यस्तो उद्देश्य हासिल गर्न सक्थ्यौँ । अनि, केही वर्षमा जनताको खाद्य आवश्यकता पूरा गर्न सक्षम भएर निर्यातका लागि यथेष्ट वचत हुन थालेपछि हामी औद्योगिकीकरणतर्फ पनि जान सक्ने थियौँ । सानो राष्ट्र नेपालले भारत वा चीन कुनै देशसँग पनि शक्तिको होड गर्न सम्भव थिएन । तसर्थ, नेपाललाई जनताहरु प्रसन्न भएको, जनताको खानपान राम्रोे भएको, उनीहरुको राम्रो हेरविचार भएको, उनीहरुले शिक्षाको राम्रो अवसर पाएको, आर्थिक रुपमा राम्रो र सांस्कृतिक रुपमा अब्बल राष्ट्र बनाउने हाम्रो लक्ष्य थियो ।
हाम्रो योजनाको विषयमा मैले राजासँग पनि छलफल गरेको थिएँ । हाम्रो योजना नेपालमा निःशुल्क अनिवार्य शिक्षा लागू गर्ने र जमिनमा हदबन्दी लगाएर किसानलाई जमिनको मालिक बनाउने थियो । हरेक परिवारले दूध र अन्य प्रोटिनयुक्त खाना अनिवार्य रुपमा पाउने अवस्था ल्याउने हाम्रो सोच थियो । यी सबै योजनाहरु हामी पन्ध्र वर्षभित्र पूरा गर्न चाहन्थ्यौँ ।
तपाईले कल्पना गर्नुभएको राजनीतिक ढाँचाचाहि कस्तो थियो नि ?
हामीले सोचेको ढाँचा राजालाई संवैधानिक प्रमुखमा राख्ने ढाँचा थियो । त्यो संसदीय प्रजातन्त्रको ढाँचा हुने थियो । त्यसमा बहुदलीय प्रणाली, बहुलवादी समाज र कानूनको राज्य हुने थियो । हामीले उदारवादी प्रजातन्त्रको अवधारणा राखेका थियौँ ।
तपाईले चाउ एन–लाईसँग सिमानाको विषयमा लामो छलफल गर्नुभएको थियो । सम्झैताकारका रुपमा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन–लाईलाई तपाईले कस्तो पाउनुभयो ?
चाउ एन–लाई असाध्यै संवेदनशील र विशिष्ट कृटनितिज्ञ थिए । मैले उनलाई नजिकबाट बुझ्ने मौका पाएँ । उनी नेहरुभन्दा धैर्यवान नेता थिए । उनी बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मसँग धैर्यपूर्वक बस्तथे । त्यसबीचमै उनी खाजा, दिउँसोको खाना, चिया आदि लिन्थे । उनी साँच्चै धैर्यवान थिए । उनको स्वास्थ्य ठीक नभउ पनि म जहाँ–जहाँ चान्थे, उनी पनि त्यही जान्थे । उनको विशेषता त्यस्तो थियो । यसले हामीबीच व्यक्तिगत सम्बन्ध पनि पढायो । उनी राजनीतिक छलफलमा समेत आत्मीय रुपमा प्रस्तुत हुन्थे । खासमा, उनीसँग जवाहरलाल नेहरुभन्दा पनि बढी कूटनीतिक चरित्र थियो । चिनियाँ नेताहरु शालीन र शिष्ट किसिमले पेस हुन्थे । त्यसैले उनीहरुसँगको सम्बन्ध सहज बन्दै गएको थियो ।
चाउ एन–लाईले नेपाल भ्रमणको क्रममा एउटा पत्रकार सम्मेलन आयोजना गरेका थिए । त्यस पत्रकार सम्मेलनमा म पनि थिएँ । खासमा पत्रकारहरुमाझ मैले नै उनको परिचय दिएको थिएँ । त्यहाँ टन्डन भन्ने एकजना भारतीय पत्रकार पनि थिए । उनले नेपालसँग चीनको सीमा विावद छ, कसरी सुलझाउनुहुन्छ ? भनेर चाउलाई एउटा अप्ठेरो प्रश्न सोधिदिए । ‘यो मित्र–मित्रको विवाद हो । त्यसो त यो विवाद नै हो भन्ने पनि हामीलाई लागर्दैन । हामी सीमाकन गर्न चाहन्र्छौ, तर तपाईले भनेजस्तो विवाद भने छैन,’ चाउले यस्तो जवाफ दिए । टन्डनले फेरि अर्को प्रश्न गरे, ‘तपाईले नै केही सय वर्गमाइलमा विवाद छ भन्नुभएको थियो, केही पकेटक्षेत्रको प्रसंगपनि उठाउनुभएको थियो त ?’
अब भने उनले अलि कडा जवाफ दिए । उनले भने, विवादै भए पनि भारतले टाउको दुखाउनुपर्दैन । जीनको आफ्नै विशाल जमिन छ भूगोलको हिसाबले चीन धेरै ठूलो राष्ट्र हो । हामीसाग केही सय माइल जमिन नभए पनि हामीलाई केही फरक पर्दैन । नेपाल चाहन्छ भने हामी त्यो जमिन दिन पनि सक्छौँ । यस विषयमा भारतले टाउको दुखाउनुपर्दैन । यो हामी दुई मित्रहरुबीचको मामिला हो । नेपालले जे मागे पनि हामी दिन तयार छौँ ।’
चाउले यसो भनेपछि म उनीतिर फर्किएँ । मैले उनको त्यो भनाइ टिपेको थिएँ । पछि, मैले त्यो धारणामा आफूलाई चित्त नबुझेको उनलाई जानकारी गराएँ । उनले भने, ‘तपाईको तात्पर्य मैले बुझेको छु सीमासम्बन्धी प्रश्नमा तपार्यलाई कुनै अप्ठेरो नहोस् भन्ने मात्र मेरो आशय थियो ।’ उनको शैली यस्तो थियो ।
तर, सगरमाथा चीनको हो भन्ने उनीहरुको दाबि रहेकाले त्यस सबालमा केही समस्याहरुं थिए । हामीले सगरमाथा हाम्रो क्षेत्रमा पर्छ भनेका थियौँ । त्यसमा बहस चल्दै थियो । माओ त्यस तुङको पत्रकार सम्मेलनमा पनि हामीले त्यो प्रस्रग उठाएका थियौँ । माओले भनेका थिए, ‘माउन्ट उभरेस्ट त विदेशी नाम हो । त्यो तपाईहरुको कसरी हुनसक्छ ? आफ्नो भाषामा त्यसको नाम त दिन सक्नुभएको छैन भने तपाईहरु कसरी हाम्रो हो भन्ने दाबी गर्नुहुन्छ ?’ तपाईहरुको चाहिँ आफ्नो नाम कहाँ छ र ? ‘ मैले यसरी प्रतिवाद गरे । एभरेस्टको चिनियाँ नाम ‘चोमोलोङमा’ चिनियाँ नभई तिब्बती नाम भएको स्मरण गराएा । तर माओले आफ्नो अडान छाडेनन् । तिब्बत चीनको भुभाग भएको तर्क उनले राखे । नेपाली भाषामा माउन्ट एभरेस्थका नाम ‘सगरमाथा नै भन्ने गरेको दाबी उनले गरे । पछि, माओले दुवै मुलुकसँग नाम नभएकाले एभरेस्टको नाम ‘फ्रेन्डसिप पिक’ राख्ने प्रस्ताव गरे । एउटा संयुक्त आयोगले यसबारे निर्णय गर्ने भयो । कमिटी गठन गरियो र त्यसले तत्कालै काम सुरु ग¥यो ।
सगरमाथाको चुचुरोबाट सीमारेखा कोर्नु उपयुक्त हुन्छ भन्ने मलाई लागेको थियो । चिनियाँहरुले एभरेस्टको आरोहण गर्न चाहने पर्वतारोहीहरुले दुवैतर्फबाट अनुमति लिनुपर्ने अर्को प्रस्ताव ल्याए । त्यसबाट नेपालको क्षेत्रबाट आरोहणमा जाने टोलीले समेत चीनका स्वीकृति लिनुपर्ने हुन्थ्यो । त्यो सर्त हामीलाई मान्य थिएन । ‘त्यसो हो भने हामी कुनै पनि विदेशीलाई पर्वतारोहण गर्ने अनुमति दिँदैनौँ,’ मैले प्रस्ट शब्दमा त्यो प्रस्ताव यसरी अस्वकार गरिदिएँ । ‘तपाईहरुको तर्फबाट कोही आरोहण गर्न चाहनेलाई अनुमति दिने–नदिने अधिकार हामीसाग हुन्छ,’ मैले यसमा अडान राखेँ । अन्ततः मैल दिएको विकल्प नै स्वीकृत भयो । त्यसैले यस विषयमा पनि खासै समस्या उत्पन्न भएन ।
ल्हासा–काठमाडौँ सडकमा भने उनीहरुले ठूलै चासो देखाएक थिए । कोदारी–काडमाडौ सडक निर्माण गर्न उनीहरुले निकै जोड दिइरहेको थिए । तर म त्यसमा सहमत थिइनन् । आर्थिक हिसाबले पनि कोदारी–काठमाडौँ सडक उपयुक्त थिएन । हामीलाई त्यो सडक आवश्यक पनि थिएन । त्यसैले उनीहरुको प्रस्ताव मैले मानिनँ । त्यस सडकको निर्माणबाट क्षेत्रीय विकासमा ठोस योगदान पुग्ने सम्भावना थिएन । त्यसमा लाग्ने पैसा अरु परियोजनमा खर्च गर्न सकिन्थ्यो । तर, उनीहरु त्यसमै जोड दिइरहेका थिए । उनीहरु यो सडक सैन्य प्रयोजनका लागि बनाउन चाहन्छन् भन्ने मलाई लागेको थियो । मैले उनीहरुलाई सो सडक त्यति आवश्यक छैन भन्ने सम्झाएँ । अन्ततः त्यसबेला त्यो सडक बनेन ।
जवाहरलाल नेहरुलाई तपाई कसरी मूल्यांकन गर्नुहुन्छ ? तपाई प्रधानमन्त्री भएपछि नेहरुसँग व्यक्तिगत सम्बन्ध कस्तो थियो ?
नेहरुको सम्बन्धमा मेरो निकै सुखद सम्झना छ । मेरो परिवार, श्रीमती र सरकारी मामिलामा समेत उहाँले गहिरो सुझबुझ, मित्रता र मानवीयता प्रदर्शन गर्नुभएको थियो । म तपाईलाई एउटा उदाहरण दिन्छु । नेपाल–भारतबीचको व्यापार सन्धि, बेलायती राजदेखि नै भारतका कारण हामी पीडित भएको एउटा समस्या थियो । त्यो समस्या अझसम्म पनि समाधान भएको छैन र सत्तामा पुगेको बेला हामीसँग ठूलो आकाक्षा थियो । हामी साना उद्योगको विकास गर्न चाहन्थ्यौ । त्यसका लागि भारतीय पूजी आकर्षित गर्नुपर्ने थियो । भारतीय पूँजीपतिहरुलाई अलिकति उत्साही बनाउनुपर्ने थियो । भारतीय पूँजीपतिहरु आफै पनि नेपालमा लगानी गर्न आतुर थिए । घनश्यामदास बिड्ला, शान्तिप्रसाद जैन, मोदी र टाटाजस्ता व्यापारिक घरानसँग हामीले सम्पर्क बनाएका थियौँ । ती सबै नेपालमा लगानी गर्न चाहन्थे ।
त्यतिबेला भारतमा पहिलो, राष्ट्रियकरणको खतरा, दोस्रो आयकर र विभिन्न खाले नोकरशाही जटिलता, यी दुई–तीनवटा समस्या थिए । जैन त्यहाँका आफ्ना सबै कलकारखाा बन्द गरेर यहाँ लगानी गर्न चाहन्थे । तर घनश्यामदास बिड्लाचाहिँ केही हिचकिचाएका थिए । त्यसैले संवादका क्रममा मैले नेहरुसँग नेपालमा उत्पादित सामानले भारतीय बजारमा स्वतन्त्र रुपमा प्रवेश पाउनुपर्छ भन्ने माग राखेँ । नेपालको बजार निकै सानो थियो । भारतले पाउनु हुँदैन भन्ने पक्षमा थिए । बिड्लाले नेपालमा कपडा कारखाना खोलेको खण्डमा त्यसको मुख्य बजार भारत नै हुनसक्थ्यो । तसर्थ, म नेपालमा उत्पादित सामान भारतमा स्वतन्त्रपूर्वक जान पाउनुपर्छ र त्यस्तो सुविधा भारतले पाउनु हुँदैन भन्ने पक्षमा थिए । भारतबाट नेपालमा आउने सामानमा हामीले आफ्नो खुसीलेभ न्सार लगाउन पाउनु त्यसको अर्थ हुन्थ्यो । समस्या त्यही थियो ।अरु विषयहरु पनि थिए, ती मैले बिर्सिए । तर, मुख्य विषय त्यही नै थियो । ‘तिमीहरु मात्र बढी फाइदा लिन चाहन्छौ । त्यसतो सन्धि त असमान हुन्छ,’ भारतीयसरकारको भनाई यस्तो थियो । ‘नेपाल पिछडिएको देश हो, तिमीहरु हाम्रो देशको विकास चाहन्छौ भने हामीलाई बढी सुविधा दिनुपर्छ,’ मैले उनीहरुलाई यस्तो भनेको थिएँ । मैले त्यतिबेला भारतकै केही भागमा समेत भारतीय सामानको स्वतन्त्र आयातमा बन्देज लगाइएको उदाहरण थिएँ ।
राजाले लामो समयदेखि यस विषयमा दबाब दिँदै आएकाले मैले नेहरुसँग व्यापार सन्धिबारे पनि छलफल गर्ने विचार गरेँ । भाग्यले भनौँ या दुर्भाग्यले, त्यतिबेला वाणिज्य विभाग हेर्ने सचिव एलके झा थिए । उनी बनारसमा पढ्दा मेरा सहपाठी थिए । पछि, उनी कश्मीरको गभर्नर भए । तर, एलके पनि मेरो मागमा सहमत भएनन् । त्यसपछि, राष्ट्रपति राजेन्द्रबाबुको निवासमा नेहरु एकाबिहानै आउनुभयो । खासमा, त्यस दिन म राष्ट्रपतिकै निवासमा बसेको थिएँ । नेहरुले मलाई भन्नुभयो, ‘के समस्या छ? म के गर्न सक्छु ? म तपाईलाई सहयोग गर्न चाहन्छु’ । मैले उहाँलाई आफ्ना समस्याहरु बताएँ । उहाँले त मलाई ‘तपाईले आफ्नो समस्याहरु आफै समाधान गर्नुपर्छ, त्यसले तपाईलाई राष्ट्रवादी छवि बनाउन मद्दत पु¥याउँछ, त्यस समस्यालाई तपाई आफै ग्रहण गर्नुपर्छ, हामी तपाईको राष्ट्रवादी छवि बिर्गान चाहँदैनौँ’ भनेर सुझाव पो दिनुभयो । नेहरु मित्रवत् हुनुहुन्थ्यो । उहाँ समझदार पनि हुनुहुन्थ्यो । मैले उहाँलाई भनेँ, ‘मेरो वर्तमानको समस्या यस्तो हो । कैयौँ महिनादेखि यो सम्स्या थाँती रहेको छ, त्यसले मलाई अप्ठेरोमा पारिरहेको छ ।’ उहाँले भन्नुभयो, ‘हो, मलाई थाहा छ । तर भारतको समस्या के हो भने तपाई वा अरु कुनै भारतका मित्रहरु नेपालकोसत्तामा पुगेको खण्डमा उनीहरुले भारत र नेपालबीचको त्यस्तो सन्धिको दुरुपयोग गर्दैनन् । तर, नेपालको सरकारमा भारतविरोधीहरु पुगे भने उनीहरुले त्यसको दुरुपयोग गर्न सक्छन् । त्यस्ता मानिसकहरु नेपालको सत्तामा पुगे भने हङकङ वा अन्य मुलुकबाट समान आयात गर्छन् र त्यसमा नेपालमा बनेको भनेर छाप लगाउन, विदेशबाट आयातित कच्चापर्दाथहरु नेपालमा प्रशोधन गर्न र सन्धिको दुरुपयोग गर्दै भारतमा निर्यात गर्न सक्छ् । पहिले राजाको सरकारले पनि तयस्तै गरेको थियो । उनीहरुले सिन्थेटिक फाइबर,सिन्थेकिट यार्न, खिया नलाग्ने स्टिलका भाँडाकुँडा र कम्बलमा त्यस्तै गरे । उनीहरुले जापानबाट आयात गरेका थिए । नेपालसँग यस्तो कमजोरी छ । त्यही काराण हाम्रा मानिसहरु यसमा अनिच्छुक छन् । तैपनि त्यसबाट तपाईको अवस्था अनुकूल हुन्छ भने म मेरा सचिवलाई तपाईसँग भेट गर्न भनौँला ।’मलाई सम्झना भएसम्म अनि उहाँले त्यहँबाट कसैसँग सम्पर्क गर्नुभयो र हिंडनुभयो । पछि, मलाई खुसीको समाचार सुनाए । नेहरु विचित्रका व्यक्ति हुनुहुन्थ्यो ।
एकचोटि म भारतको औपचारिक भ्रमणमा थिएँ । मेरो श्रीमती पनि साथै थिइन् । मेरी कान्छी छोरी त्यसबेला सानै थिई । त्यसैले ऊ पनि हामीसँग गएकी थिई । विमानस्थलमा स्वागत कार्यक्रम हुँदा हाम्री छोरीलाई इन्दिराजीले लगिन् । मलाई हैदरावाद हाउसमा राखिएको थियो । उहाँहरु त्यहाँ अउनुभयो । उहाँहरुले मलाई विदेशी पाहुना वा सरकारी पाहुनाको व्यवहार होइन, परिवारिक पाहुनाको व्यवहार गर्नुभयो । इन्दिराजी मेरी श्रीमतीलाई भेट्न आइरहन्थिन्, उनले किनमेलका लागि मेरी श्रीमतीलाई धेरैपटक लिएर गइन् । उनीहरु एक दुईपल्ट सारी र मजेत्रो किन्न कपडा पसलमा गएका थिए । हाम्रो लागि एउटा विशेष रेलको व्यवस्था गरिएको थियो । हामी चढ्नुभन्दा पहिले रेलका हरेक डिब्बा र सबै बाथरुमको गार्डहरुले निरीक्षण गरेका थिए । त्यो बिदाई कार्यक्रम एकदमै आत्मीय थियो । भारतको भ्रमणमा जाने अरु राज्यप्रमुखले सलामी, रातो कार्पेट आदिको स्वागत पाउँथे भने हामीलाई विशेष पाहुनाको रुपमा लिइएको थियो ।
म दुईवटा कारणले जवाहरलालजीप्रति कृतज्ञ छु । एउटा कारण निश्चय पनि व्यक्तिगत छ । मैले भोकहडताल गरेका बेला उहाँले दुइपल्ट मेरो ज्यान बचाउनुभयो । उहाँसँग मेरो नीतिगत असहपति थियो । उहाँ कुने विषयमा पनि प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँ केटाकेटीजस्तो हुनुहुन्थ्यो । उहाँले धेरै पक्षमा नकारात्मकता भित्र्याउनुभयोँ । उहाँले प्रशासनलाई जनताको चाहनाअनूकूल बनाउन सक्नुभएन । मलाई लाग्छ, उहाँको पालामा बेलायती सरकाले खडा गरेको ढाँचामा प्रशासन चल्यो ।त्यो पनि नितिगत विषया नै हो । तर उहाँ धेरै मिलनसार हुनुुहन्थ्यो र सद्भाव र विशेष सम्बन्धका कारण मेरो पूरै परिवार उहाँप्रति कृतज्ञ छ ।
तपाईहरुबीचका असहमतिका अरु विषय कस्ता थिए ?
आर्थिक विकासको मोडलको सम्बन्धमा हाम्रा धारणा फरक थिए । नेहरु सोभियत शैलीको मोडल पछ्याउन खोज्दै हुनुहुन्थ्यो । उहाँ समाजवादीभन्दा बढी कम्युनिस्ट अर्थतन्त्रलाई महत्व दिनुहुन्थ्यो । तर, त्यस विषयमा पनि विवाद भएन । नेपालको सन्दर्भमा चीनको मुद्दामा बाहेक हामीबीच कुनै मतभेद थिएन ।
तपाईको प्रेमचन्दसँग करी सम्पर्क भयो, त्यस विषयमा पनि केही बताइदिनुहुन्छ कि ?
त्यसबेला म बनारसको हरिशचन्द्र हाइस्कुलमा पढ्थेँ । सौभाग्यवश मेरो शान्तिप्रिय द्विवेदीसँग सम्र्पक भयो । उनी समालोचक र कवि हुन् । त्यसबेला उनी रामकृष्ण दास पुस्तकालयका लाइबे्ररियन थिए । त्यस पुस्तकालयमा किताब र प्राचीन ग्रन्थहरुको ठूलो संग्रह थियो । उनी त्यहाँ पुस्तकको सूची तयार पार्दथे । उनले नै मभित्र साहित्यको रुचि जगाएका हुन् । मैले यो पनि भन्नेपर्दछ, उनको प्रेरणाबाट नै मैले हिन्दीमा लेख्न सुरु गरेँ । रामकृष्ण दाससँग पनि उनीमार्फत नै मेरो सम्पर्क भयो । रामकृष्ण दास साहित्यका विशिष्ट व्यक्तिहरुलाई प्रायःजसो घरमा निम्त्याउने गर्दथे । त्यहाँ एक किसिमको भोज पनि चल्दथ्यो । त्यहाँ आउने महत्वूर्ण व्यक्तिहरुमा जयशंकरप्रसाद, अजमेरजी र मैथिलीशरण गुप्ता पनि हुन्थे । मलाई सहयोग गर्ने, मार्गदर्शन दिने व्यक्तिचाहिँ पे्रमचन्द नै हुनुहन्थ्यो । मलाई प्रेमचन्दजीकहाँ शान्तिप्रिय द्विवेदीले नै लगेको हुन् । प्रेमचन्द त्यसबेला ‘हंस’ भन्ने साहित्यिक पत्रिका सम्पादन गर्नुहुन्थ्यो । मैले उहाँलाई आफूले लेखेका एक–दुईवटा कथा देखाएको थिएँ । उहाँ मेरा कथा पढ्नुहुन्थ्यो र सच्याइदिनुहुन्थ्यो । उहाँ मेरा कथाहरुमा अनावश्यक गफ हटाएर हंसमा छापिदिनुहुन्थ्यो । म उहाँलाई जहिले पनि भेट्न सक्थेँ । त्यसबेला उहाँ मानिसहरुले घेरिरहने धेरै व्यस्त व्यक्ति हुनुहुन्थ्यो । उहाँ मेरा लागि र अरुका लागि समेत समय निकाल्नुहुन्थ्यो। मलाई लाग्छ, उहाँले नै हात समाएर मलाई लेख्न सिकाउनुभएको हो । त्यसकारण म उहाँप्रति धेरै अभारी छु ।
प्रकाशित मिति: २०७१ साउन ३, कान्तिपुर (कोसेली)