उग्रवाद र अराजकताबाट देश बचाऔँ
बीपी, अचेल यहाँको राजनीतिमा खास तीक्ष्णता नआएको, सायद शिथिल भएको कुरा सुन्दै र पढ्दै छु, यहाँको विचार ?
आफ्नो संघर्षशील राजनीतिक जीवनमा म आजकाल जति उद्यमशील र सक्रिय छु, त्यति कहिल्लै भएको थिइनँ । २००७ सालको क्रान्तिले देशलाई गरेको दिशानिर्देशनलाई २०१७ साल पुस १ गतेको प्रतिक्रान्तिले मेट्ने प्रयत्न गर्यो । अहिलेको राजनीतिक जटिलताको एक मात्र कारण त्यही प्रतिक्रान्ति हो । त्यसले देशलाई केवल दिग्भ्रमितमा पारेन, राष्ट्रिय विचारधारालाई ऐतिहासिक अवरोधसमेत खडा गर्यो । त्यसो हुनाले यो स्वाभाविक कुलोमा बग्न दिएन । जनमतलाई इतिहासले इङ्गित गरेको दिशापट्टि जानबाट कृत्रिम ढङ्गले रोक्न नानाभाँतीका प्रयोग गरेर त्यसलाई सञ्चालन गर्ने प्रयत्न भयो । राष्ट्रिय जीवनको कुनै पनि पक्ष यसबाट दूषित र भ्रान्ति हुनबाट जोगिएन । अन्योलको दोबाटोमा पुगेर भ्रासन्तको ध्वनि विभिन्न कण्ठबाट फुट्न थालेको छ ।
राजाको नाउँमा यथास्थितिलाई सघाउ पु¥याउने खालका उग्रवादी नारा उठेका छन् भने प्रजातन्त्रको नाउँमा अराजकतावादलाई सघाउ पु¥याउने अर्का खालका नारा उठेका छन् । तथाकथित राष्ट्रवादीहरुको क्रियाकलापले विदेशी हीतक्षेपलाई सजिलो पार्न थालेको छ भने तथाकथित प्रजातन्त्रवादीहरुको कारबाहीले पनि त्यसैलाई सफल बनाउन थालेको छ । अहिलेका अन्योलको स्थितिमा उग्रवादको चिच्याहटपूर्ण स्वर अरु अन्योलको कोलाहलभन्दा माथि उठेर हाम्रो कानमा परिरहेको छ । लाग्छ बाटो त उग्रवादले पो पहिल्याएको रहेछ । यस्तो स्थितिमा उग्रवाद, अराजकता र भ्रान्तिको स्वरमा स्वर मिलाउन म चाहन्नँ । नेपालका लागि उग्रवाद र अराजकताको विलास अत्यन्त घातकसिद्ध छ । त्यसैले, मैले समय–समयमा अराजकताका विरुद्ध चेतावनी दिदैँ आएको हुँ र त्यसैले ममाथि उग्रवादीहरुको प्रहार पनि भएको हो ।
यस व्यवस्थाको बीस वर्षका अवधिमा कसैले स्पष्ट र निरन्तर सङ्गठित विरोध गर्दै आएको छ भने हामी नै ती व्यक्ति हौँ आजका दिन पनि अहिलेका संविधानको सन्दर्भमा जनतालाई विरोधको सङ्गठित र सशक्त आवाज बनाउने हेतुले हामीले चुनाव बहिस्कारको नारा उठायौँ । यस नीतिको निर्धारण र कार्यान्वयनमा सायद हाम्रो मात्र यस्तो जमात थियो जसले देशभरि साना–ठूला सयौँ सभा ग¥यो, बहिस्कारको सक्रिय पक्षलाई देशको कुना–कुनासम्म प्रचार–प्रसारद्धारा लाने प्रयत्न ग¥यो । यसैकारण सयकडौँ कार्यकर्ताले सरकारको कोपभाजन भएर जेलमा बस्नुप¥यो । के यो राजनीतिक शिथिलता हो ?
हामीहरु राष्ट्रियता र प्रजातन्त्रको संस्थागत विकासका लागि मौलिक प्रयत्नमा संलग्न छौँ । हामी देशलाई उग्रवाद र अराजकताको ज्वालामा भष्मीभूत हुन दिन चाहन्नौँ । हामी राष्ट्रियता र प्रजातन्त्रको विशाल महलका लागि जगका ढुङ्गाहरुको जगेर्ना गर्ने प्रयत्नमा छौँ । हामीले स्पष्ट देखेका छौँ, हाम्रो प्रजातान्त्रिक राजनीतिले अराजकता र उग्रवादको सामना गर्न सकेन भने अर्को तत्वले गर्छ । त्यो तत्वले फासिस्ट सैनिक हस्तक्षेप वा विदेशी सैनिक हस्तक्षेपमार्फत् त्यो काम गर्छ । यसको उदाहरण अफगानिस्तान छ । मैले आफैँलाई दिएको भूमिकाअन्तर्गत पर्ने जिम्मेवारी भनेको यस्तो भयावह सम्भावनालाई हत्केलाको तागतले होइन, जनशक्तिको विवेकपूर्ण सङ्गठनद्धारा उग्रवादको राष्ट्रिय आधारमा मुकाबिला गरेर रोक्नु हो । मेरो विश्वास छ मैले उल्लेख गरेको भयङ्कर सम्भावनालाई नियतिको अपरिहार्यतामा परिणत हुनबाट रोक्नका लागि हामीसँग अझै समय छ ।
जनमतभन्दा पहिले यहाँहरुबाट जनताले धेरै आशा गरेको पाएका थियौँ । जनमतको प्रतिफल धाँधलीपूर्ण भएको, सबैले अनुभव गरे, तर तपाईहरुले त्यसलाई स्वीकार गर्नुभयो नि ?
म जनताबाट विश्वास चाहन्छु, आशा होइन । विश्वासमा सक्रियता, कर्मण्यता, उद्यम, साहस परिलक्षित हुन्छ । आशा अकर्मण्य परमुखापेक्षी भावना हो । जनाधारित राजनीति गर्न चाहने व्यक्तिले जनताको सहयोगको अपेक्षा गर्छ । कुनै अस्थायी कारणबाट बन्न गएको जनताको मनोदशा, कमजोरी र परामुखी भावनालाई उकासेर तात्कालिक राजनीतिक लाभ लिने वा वाहवाही लुट्ने कोशिसले दिगो विश्वास प्राप्त हुँदैन । त्यस्तो सस्तो राजनीतिको आडम्बरी आचरणले समाजको मर्यादा र गरिमालाई हलुका पारेको छ ।
तपाईको प्रश्नको कटाक्ष कतापट्टि छ भने जनमतसङ्ग्रहमा धाँधली भयो भनेको भए मैले जनताको विश्वास पाउने थिएँ । यस मान्यताको अर्को अर्थ हुन्छ, ज–जसले धाँधलीको डम्फू बजाए, तिनीहरुले जनताको विश्वास प्राप्त गर्न सफल भए र म भने जनताबाट अलग्गिएँ । मलाई यस्तो लाग्दैन मैले बीच–बीचमा देशको राजनीतिक यात्रा गर्ने गरेको छु, र हालै केही महिनासम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा पनि गरेँ । काठमाडैाँमा पनि एउटा विशाल सभालाई सम्बोधन गरेँ । ईश्वरबल्लभजी, तपाईलाई थाहा छ, जनमतसङ्ग्रहमा बहुदलपक्ष हारेको सम्पूर्ण दोष ममाथि लादिएको थियो ।
मेरो यात्राको क्रममा हरेक ठाउँमा मैले हजारौँको सङ्ख्यामा नेपाली जनता र हाम्रा आफ्ना कार्यकर्ताहरुसँग भेटघाट गरेँ, उनीहरुलाई सम्बोधन गरेँ, अप्ठेरो परिस्थितिमा विद्यमान तीता कुराहरुको बोध गराउने प्रयत्न गरेँ, तर कहिले पनि तिनीहरुलाई रिझाएर बोलिनँ । प्रजातन्त्रको यात्राको कठिनाइलाई ढाकछोप गर्ने प्रयत्न पनि गरिनँ । तर, त्यस्तो हुँदाहुँदै पनि मैले उनीहरुबाट जुन स्नेह, आदर–सम्मान पाएँ, ठाउँ–ठाउँमा जुन न्यानो आतिथ्यको उपभोग गर्न पाएँ त्यस हार्दिकताको कुन शब्दमा वर्णन गरुँ ! मलाई जनताको मेरो सम्बन्ध राजनीतिक धारातलबाट उठेर प्रगाढ हार्दिक स्तरमा पुगेको अनुभव भएको छ । जनताको माया र विश्वास मात्र मेरो राजनीतिक उपलब्धि हो ।
अब रह्यो, जनमतसङ्ग्रहको परिणामलाई स्वीकार गर्ने मेरो निर्णयको सवाल । तपाईलाई सम्झना होला, जनमतसङ्ग्रहको घोषणा हुनेबित्तिकै मैले त्यसको स्वागत गरेँ र बीस वर्षपछि प्रारम्भ हुन लागेको ठूलो प्रजातान्त्रिक अभ्यासमा बिनाशर्त सक्रिय हुने अठोट गरेँ र आफ्ना साथीहरुलाई यसका लागि तयार पारेँ । मलाई थाहा छैन, यस अभ्यासलाई अरु तत्वहरुले कुन दृष्टिले हेरे । राजालाई सायद एउटा वैधानिक उपायको खोजी थियो होला, त्यसो हुनाले मौसुफको दृष्टिमा यसको तात्पर्य र परिधि अत्यन्त सङ्कीर्ण थियो होला । कतिले यसलाई धोका हो भने र कतिले कुटिल राजनीतिक चाल भने । मैले यसलाई हाम्रो प्रजातान्त्रिक संघर्षको परिप्रेक्ष्यमा एउटा ठूलो हतियारको रुपमा हेरेँ ।
बीस वर्षपछि खुल्लामञ्च मुक्तिको प्रतीक भएको छ । अद्यावधि जनमतसङ्ग्रहको परिणामलाई गौण पार्दै जनमतसङ्ग्रहको घोषणाबाट प्राप्त अधिकारको प्रतीक भइरहेको छ । त्यहाबाट विभिन्न राजनीतिक पक्षका क्रान्तिको चिच्याहटको उग्रस्वर वा करबद्ध याचनाको दीनस्वर वा विवेकको स्वर प्रसारित भइरहेको छ । त्यही स्थललाई अहिले कति निर्दलवादीले नवीनतम निर्वाचनमा धाँधली भयो भन्ने प्रचारका लागि पनि प्रयोग गरिरहेका छन् । मेरो दृष्टिमा जनमतसङ्ग्रहको यस्तो व्यापक राजनीतिक पक्ष थियो । कसैको इच्छा, अनिच्छा, कसैको उद्देश्य, कसैको हिसाब–किताबभित्र नपर्ने सम्भावना मैले देखेको थिएँ । अरुले आफ्नो हिसाबमा धोका खाए होलान्, मैले खाएको छैन भन्ने मलाई आत्मविश्वास छ ।
ईश्वरबल्लभजी, जस्तोसुकै गहिरो कालो अक्षरमा प्रेस कानुन लेखिएको भए पनि तपाईलाई पत्र–पत्रिकाका लागि कलम चलाउँदा केही निर्धक्क भएको बोध भएकै होला । देशमा जनमतसङ्ग्रहपछि प्रजातन्त्रको पक्षमा ठूलो गुणात्मक परिवर्तन आएको छ । त्यसो हुनाले मैले जनमतसङ्ग्रहको घोषणा हुनेबित्तिकै बिनाशर्त त्यसलाई स्वीकार गरेँ यस्तो ठूलो सकारात्मक सम्भावनालाई मुक्त हृदयले स्वीकार नगर्नु त्यस सम्भावनालाई नै कुण्ठित पार्नुहुने थियो, सम्भावनालाई नै अस्वीकार गर्नुहुने थियो ।
बल्लभजी, आउनोस् अब म तपाईलाई तर्कको तल्लो तलामा ओह्राल्छु जहाँ अहिलेको नेपालको राजनीतिको बैठकगफ हुन्छ । जनमतसङ्ग्रह हुँदा कसैले धाँधलीको आवाज उठाएनन् । दस दिनपछि परिणामको घोषणा भयो । यस अवधिभरि सबै परिणामको प्रतिक्षामा बसिरहे । मेरो त कुरै भएन; कतिले त जनमतसङ्ग्रह निर्बिध्न र धाँधलीरहित भएकोमा सन्तोष प्रकट पनि गरे र जस–जसलाई धन्यवाद दिनुपर्ने सम्झे उस–उसलाई धन्यवाद पनि दिए । तर परिणामको घोषणा भएलगत्तै, तत्क्षण नै, बिना कुनै नयाँ अनुसन्धान वा प्रमाण वा तथ्य हारेको चोटलाई खप्न नसकेर एक स्वरमा धाँधली भयो भन्न थाले । मलाई पनि परिणामले चकित पा¥यो र त्यसैले परिणामलाई स्वीकार गर्दा पनि त्यस परिणामलाई अप्रत्यासित र बुझ्न नसकिने भनेको थिएँ । अरुहरुका लागि त धाँधलीको घोषणा गरेपछि अरु कुरा सोच्नुपर्ने कुरै भएन होला । मेरोअगाडि भने तीनवटा अत्यन्त व्यावहारिक जिम्मेवारी वा समस्या थिए ।
१. जनमतसङ्ग्रहको मूल्याङ्कन कसरी गर्ने ? हाम्रो पक्षले हार्नुमा के धाँधली मात्र कारण थियो कि पञ्चायतको सङ्गठनको मुकाबिलामा हाम्रो सङ्गठनात्मक कमजोरी पनि थियो ? चुनावको राजनीतिसँग अनिभज्ञ हाम्रा बहुदलीय पक्षका प्रचारकहरुले के कसो गरे ? हाम्रा नाराहरु केवल राजनीतिक मात्र रहे कि तिनको जनताको दैनिक जीवनसँग कसरी मेल खान्छ, त्यसको व्याख्या पनि हाम्रोतर्फ भयो वा भएन ? भय, त्रास र प्रलोभनको भूमिका कति रह्यो ? यस्ता व्यावहारिक प्रश्न हाम्रा अगाडि प्रस्तुत भए ।
२. हाम्रो पक्षमा परेको बीस लाख मतको कस्तो मूल्याङ्कन गर्ने ? धाँधलीको परिप्रेक्ष्यमा बीस लाख मत अमर्यादित हुँदैन ? यी मतलाई पनि धाँधलीको टोकरीमा फ्याँकिदिने ? ती मत वास्तवमा मत थिएनन्, केवल धाँधलीले हाम्रो भागमा पारिदिएका सङ्ख्या थिए भन्ने ?
३. अर्को प्रश्न उग्रवादीहरुको वामपन्थी रणनीति सम्बन्धमा हाम्रो सामुन्ने उपस्थित हुँदै आएको थियो । जनमतसङ्ग्रहमा उनीहरुको कस्तो भूमिका रह्यो ? के तिनको वाणी र व्यवहार एउटै किसिमको थियो त ? दिउँसो नीलो, रातो, पहेलो त थिएन ? साथै, हामीले बाहिरियाहरुको जनमतसङ्ग्रहमा सक्रिय दिलचस्पी थियो कि थिएन भन्ने पनि पहिल्याउनुपरेको थियो । थियो भने, कस्तो र कति गहिरो दिलचस्पी थियो ?
निर्वाचन राजनीतिको थालनीको पहिलो चुनाव अर्थात् जनमतसङ्ग्रह हाम्रालागि अत्यन्त महत्वपूर्ण थियो । अब तपाई भन्नुहोला, जनमतसङ्ग्रहको त्यस्तो महत्व थियो भने त्यस्तै तर्कको आधारमा हामीले भर्खरै सम्पन्न भएको राष्ट्रिय पञ्चायतका लागि निर्वाचनमा किन भाग नलिएको त ? हामीले जनमतसङ्ग्रहमा भाग लिँदा हामीमाथि कुनै बन्देज थिएन, कुनै शर्तको पालना गर्नुपर्ने बाध्यता थिएन । तर वालिग मताधिकारको आधारमा अहिलेको निर्वाचनमा भए पनि उम्मेदवारीमा बन्देज लगाइएको थियो । जनमतसङ्ग्रहले पञ्चायती प्रणालीको अन्त्यको प्रारम्भ ग¥यो, यो अन्त्यको प्रारम्भलाई स्वीकार गर्ने कि नगर्ने ? जनमतसङ्ग्रहको राजनीतिक परिणामले पञ्चायतवादीहरुको स्वजाति–भक्षक बनाएको छ, त्यसलाई स्वीकार गर्ने कि नगर्ने ?
हाम्रो राष्ट्रियता नै आज सङ्कटमा परेको सबैतिरबाट महसुस हुन थालेको छ र पञ्चायती आमनिर्वाचनपछि पनि दिशा दृष्टिबोध नभएर झन अन्योलजन्य स्थिति देखा परिरहेको छ । यसलाई तपाईले कुन रुपमा लिनुभएको छ र तपाईहरुको भावी कार्यक्रमबारे के सोच्नुभएको छ ?
बल्लभजी, सत्यको मुख ढाकेपछि मिथ्याको थुतुनो फुक्छ । पञ्चायती व्यवस्थाको गोलीको सबभन्दा पहिलो सिकार सत्य भयो । घोर अप्रजातान्त्रिक कारबाहीलाई असल प्रजातन्त्रको प्रारम्भको संज्ञा दिइयो, राष्ट्रवादीहरु अ.त. (अन्तराष्ट्रिय तत्व भनेर घोषित गरिए र वास्तवमा अराष्ट्रिय तत्वले भने व्यवस्थाका मुख्य–मुख्य स्थल ओगट्न पुगे । तिनीहरुद्धारा घोषित गरिएका अ.त. लाई निर्मूल गर्ने अभियान चालियो । बीस वषदेखि विकासको मूल फुटाउने नाउँमा देशलाई झन् कङ्गाल बनाइयो, धनी झन्–झन् धनी भए, गरिब र मध्यमवर्ग झन्–झन् दरिद्र हुँदै गए । हामीलाई आर्थिक पतनलाई विकास हो भनेर सम्झाइयो । व्यापार कालोबजारी र तस्करी भयो । यसरी पञ्चायती व्यवस्थामा चारैतिर खोटो सिक्काको प्रचार भयो । बजारमा खोटो मोहरबाहेक असली मोहर कसैले देख्न पाएनन् । यस्तो कृत्रिम र झूठो राजनीतिक स्थितिमा हाम्रो देश अन्योलको मनोदशाले ग्रस्त हुनु कुनै आश्चर्यको कुरो भएन । झूठो राजनीतिक आधार र सिद्धान्तमा थालनी गरिएको व्यवस्थाले एउटा असत्यलाई सयवटा असत्यले ढाकछोप गर्नुपरेको जस्तो पत्र–पत्रमा झूठो र कृत्रिमताको सहरा लिनुप¥यो । त्यसैले घोर र कम्युनिस्ट नारा भट्टयाउनेहरु वास्तवमा कतिपय दरबारीया छन्, र कतिपय नामुद राजावदी वास्तवमा राजतन्त्रका विरुद्ध षड्यन्त्रमा संलग्न छन् ।
स्पष्टसँग विदेशको प्रभावमा रहेका व्यक्तिहरु, राष्ट्रियताका प्रहरी भएका छन् । प्रजातन्त्रको रणनीतिको घोषणा गर्ने कतिपय व्यक्तिहरु राष्ट्रघाती आन्दोलनका अगुवा भएर हिँडेका छन् । सरकारमा बसेका व्यक्तिहरु अस्थिरताको राजनीतिलाई प्रोत्साहन दिइरहेका छन् । राजनीतिको यस्तो नाचमा लागेका व्यक्ति वा समूहका चेहराबाट मुखुण्डो नझिकीकन कसको तालमा, को नाचिरहेको छ भन्ने जान्न असम्भव हुन थालिरहेको छ । मुखुण्डोमा एउटा आकृति छ, तर मुखुण्डोधारीका गोडा त्यसको विपरीत भावलाई जगाउने तालमा नाच्दै छन् । जनताले कसरी बुझ्ने ? एक त सङ्क्रमणकालमा त्यसै पनि विशृङ्खलताको स्थितिको सिर्जना हुन्छ, त्यसमाथि मिथ्याको कुइरोमा मुखुण्डोधारीको बेमेल नाच भइरहेको छ । ल ! तपाई नै भन्नोस् साधारण नागरिकहरु मतिभ्रम किन नहुने ?
मलाई परेका केही समस्याहरु तपाईसँग बाँड्न चाहन्छु । तपाई एउटा नागरिक र एउटा चर्चित पत्रिकासँग सम्बन्धित पत्रकार हुनुहुन्छ । पोखरा जाने राजमार्गमा गोरखा जिल्लामा अवस्थित ठाँटीपोखरीको नाउँ सुन्नुभएको छ ? थाहा छैन भने श्री कीर्तिनिधि विष्ट र उहाँसँग त्यहाँ जाने व्यक्तिहरुसँग सोध्नोस् वा डा. केशरजङ्ग रायमाझी वा श्री कृष्णप्रसाद भण्डारी वा त्यस बाटोबाट हिँड्ने कुनै पनि समूहका राजनीतिक व्यक्तिहरुलाई सोध्नोस् वा शान्ति, सुरक्षाका लागि तैनाथ त्यहाँका प्रहरीलाई सोध्नुहोस् । सबै एकनाससँग पिटिएका थिए, ज्यान जोगाएर सबै भागेका थिए । डा. रायमाझीका अनुसार, उहाँ त भाग्नुभयो, सिपाहीहरु पनि टोपी समात्दै उहाँभन्दा अघि–अघि भागिरहेका थिए । श्री विष्टले भन्नुभयो, ‘धरोधर्म, मलाई मारिसकेको थिए । उहाँ लुकेर बसेका ठाउँमा पाँचजना सशस्त्र प्रहरी रातभरि लुग–लुग कामिरहेका थिए । तिनताका हाम्रो समूहको कुरै भएन, कुटाइ, पिटाइ र कालोमोसो दली पाउनेहरुमा हामी पहिला नम्बरमा थियौँ । तपाई वा तपाईको पत्रिकाले ठाँटीपोखरीको रहस्यलाई बुझ्ने प्रयत्न ग¥यो ? सरकारले त्यसलाई बुझ्ने प्रयत्न ग¥यो ? वा कसैले ? त्यो अराजकताको नेतृत्व लिने तत्व को थियो ? तपाईलाई त्यो एउटा स्थानीय घटना मात्र लाग्दो हो; तर मेरालागि भने वर्तमान शक्तिको दाउपेच बुझ्नका लागि यस रहस्यको उद्घाटनले बडो मद्दत दिन्छ ।
भर्खरै सम्पन्न भएको निर्वाचनमा पनि एउटा रहस्य उपस्थित भएको म पाउँछु । मैले आफ्नो जिल्ला मोरङमा खडा भएका उम्मेदवारको सूची पढेँ । स्वभावतः मेरो आँखा श्री मातृकाप्रसाद कोइरालाको नाउँमा प¥यो । किनभने, अरु कुराको अतिरिक्त उहाँ ‘सरकारी वा पञ्चायती’ उम्मेदवारको रुपमा घोषित हुनुहुन्थ्यो । मलाई लाग्यो, प्रधानमन्त्री थापालाई उहाँको विजय रुचिकर हुने छैन । किनभने, यस व्यवस्थाअन्तर्गतको राष्ट्रिय पञ्चायतमा श्री थापाको एउटा सबल प्रतिद्वन्द्वी उहाँ हुन सक्नुहुन्छ । त्यस्तो राजनीतिक न्यायअनुसार श्री थापाले उहाँलाई हराउन भरमग्दुर प्रयत्न गर्नुपर्छ । यही राजनीतिक न्यायअनुसार यस चुनावमा दरबारको दिलचस्पी श्री थापाको सबल प्रतिद्वन्द्वीलाई संसद्मा पु¥याउनका लागि थियो, यसैबाट उसको युक्ति चयनमा सजिलो पथ्र्यो । श्री मातृकाप्रसाद कोइरालाको सानो रणक्षेत्र वास्तवमा अर्कै शक्तिहरुको अखडा पो रहेछ भन्ने तर्क उपस्थित हुन्छ । त्यसो भए श्री थापाको शक्ति सम्पन्नताको आधार के हो त ? यस दिशापट्टि के कसैको ध्यान गएको छ ? यसको उद्घाटन हुनु आवश्यक छ भन्ने मलाई लाग्छ ।
आमनिर्वाचनले प्रधान शक्तिहरु चुनावको अखण्डामा थिए भन्ने अर्थमा मात्र दिशाबोध गराउँछ । हामीलाई यसले वर्तमान नेपालको परिस्थितिको मूल्याङ्कन गर्ने एउटा माध्यम दिएको छ । यसले राष्ट्रलाई अगाडि लान्छ, हामी समस्याहरुको समाधानपट्टि अग्रसर हुन्छौँ भन्ने लागेको भए चुनाव बहिष्कार नै किन गथ्र्यौ र यस निर्वाचनले हामीलाई गतिको भान दियो होला, तर प्रगति दिएको छैन । हामी एउटा थलोमा उभिएर दौडिरहेका छौँ । जनमतसङ्ग्रहपछिको नेपालले प्रगतिका पहिलो कदम तब मात्र चाल्छ, जब चुनावद्धारा वास्तविक प्रशासकीय अधिकारको स्थानमा जनताका प्रतिनिधिलाई पु¥याउने प्रक्रियाको थालनी हुन्छ । जुन प्रक्रियामा प्रजातन्त्रवादीको सक्रिय योगदान हुन्छ । यस तथ्यलाई सबैले बुझ्नुपरेको छ ।
तपाईको प्रश्नको उत्तर स्वयं तपाईले नै दिनुभयो । आँखाको प्रमाणलाई झूठा सावित गर्नेगरी नतिजाको घोषणा भयो । यस्तो चुनाव परिणामको सम्बन्धमा मैले के भन्ने ? हामीले चुनावलाई निरर्थक सम्झेर यसको बहिस्कार ग¥यौँ । जित्नेले जिते, तर हार्नेहरुले आफ्नो हृदयमा हात राखेर सोधून्, के उनीहरु कुनै षड्यन्त्रको सिकार त भएनन् ? त्यस चुनावमा हार खाने व्यक्तिहरु नै चुनावको इमान्दारीका सम्बन्धमा सबभन्दा परिचय पाउनेहरु हुन् । उनको आत्माको साक्षी उनले आफ्नो हृदयमा हात राखेर सोधून, के उनीहरु कुनै षड्यन्त्रको सिकार त भएनन् । यस ब्यवस्थाको मिथ्याको किञ्चित परिचय उनीहरुले पाएको भए पनि सानो उपलब्धि नै भयो । अब रह्यो, हाम्रो भावी कार्यक्रम । नेपालीहरुले आफ्नो सम्पूर्ण शक्ति एकत्रित गरेर तीनवटा समस्याहरुको समाधान गर्नुपरेको छ । ती तीनवटा आधारभूत समस्या हुन्:
१. राष्ट्रियताको जग सुदृढ पार्नेः यसको तात्पर्य तमाम देशबासीलाई राष्ट्रियताको भावनाले आबद्ध गर्नु हो । सन्तोषको कुरा के हो भने हाम्रो राष्ट्र अल्पसङ्ख्यक जातिहरुको समूह हो । कुनै पनि जाति अरु जातिहरुको दाँजोमा अल्पसङ्ख्यक छ । त्यसो हुनाले जातिय आधारमा यहाँ राजनीति सफल हुनै सक्तैन । कुनै पनि क्षेत्रबाट कसैले जातिको आधारमा चुनाव जित्छु भन्ने आशा गर्न सक्तैन । यस दृष्टिबाट हेर्ने हो भने अहिलेको निर्वाचनले पनि यही अर्थ प्रदान गर्छ । काठमाडौँमा जित्ने एकजना अनेवारले पाएको अधिकांश भोट नेवारहरुको थियो भने, अर्को नेवारको अधिकांश भोट काँठको नेवारहरुको थियो । पोखरामा नगण्य सङ्ख्याको थकाली अनेवार र अथकाली भोटले उम्मेदवार निर्वाचित भए ।
मधेसमा मधेसी पहाडियाको बडो चर्को भावना छ भनिएको ठाउँमा पहाडिया मल्ल र श्रेष्ठहरु विजयी हुन्छन् । मलाई विश्वास छ, काठमाडौँका नेवार तराईका मधेसीमा राष्ट्रियताको बलियो जग अडेको छ । यिनीहरु कुनै पनि अवस्थामा निजामती वा जङ्गी कामका लागि लाहुर जाँदैनन् । पहाडियाहरुको चर्चा यहाँ किन नगरेको हो भने उनीहरुमा राष्ट्रियताको व्यापक प्रचार छँदै छ । तराईबासी वा काठमाडौँ उपत्यकाका नेवार वा पहाडका अरु नागरिकहरुमा राष्ट्रियताको भावना समानरुपले विद्यमान छ । यस भावनालाई प्रजातान्त्रिक अभ्यासद्धारा सुदृढीकरण गर्ने जिम्मेवारी हामीलाई आइपरेको छ । अहिलेको निर्वाचनमा प्रत्येक मतदाताको मूल्य एकनासको थिएन । कृत्रिम ढङ्गबाट निर्वाचनक्षेत्र बनाएर तराई र काठमाडौँ उपत्यकाका नागरिकहरुको आफ्नो सङ्ख्यानुपातमा प्रतिनिधि पठाउने अधिकारलाई सीमित पारेको छ । यस्तो प्रयत्नले राष्ट्रिय भावनाको सुदृढीकरणमा बाधा पुग्छ । कुनै समूहमा अन्यायको अनुभव हुन गयो भने राष्ट्रको बलियो जग बनाउन ठूलो अड्चन उत्पन्न हुन्छ ।
२. विकासको शक्ति स्वयंमा निहित स्थायी राजनीतिक व्यवस्थाको स्थापना गर्नुः यस्तो व्यवस्थाअन्तर्गतका संस्थाहरुमा जनताको विश्वास हुनुपर्छ । यस्तो व्यवस्था केवल प्रजातन्त्रले मात्र दिन सक्छ । मैले प्रजातन्त्रको व्याख्या गर्नु आवश्यक छैन । त्यस व्यवस्थामा जनताको निहित स्वार्थ गाभिएको हुनाले राष्ट्रियताको आधारलाई पनि यस्तै व्यवस्थाले बलियो पार्छ ।
३. देशको आर्थिक विकास देशबासीको असह्य दरिद्रीलाई हटाउनु अहिलेको हाम्रो प्राथमिक जिम्मेवारी भएको छ । यस उद्देश्यप्राप्तिका लागि पनि स्थायी रुपमा जनसम्मत प्रजातान्त्रिक व्यवस्थाको स्थापना अत्यन्त जरुरी छ ।
ईश्वरजी, यी महान् राष्ट्रिय जिम्मेवारी हामी सबैको साझा जिम्मेवारी हुन् । तपाई र मेरो मतमतान्तर होला, तर यी तीन प्रमुख जिम्मेवारी तपाई र ममाथि समान रुपले आइपरेका छन् । यस जुवालाई तपाई र मैले आफ्नो काँधमा लिनुपरेको छ । त्यसैले हामीले, राष्ट्रिय मेलमिलापको नीति अँगालेका हौँ यस जिम्मेवारीको जुवा राजाको काँधमा पनि बोकाउनु छ । यी तीनै महान् प्रयासमा राजाको ठूलो भूमिका रहन्छ । यसलाई प्रतिध्वनिले राम्ररी बुझिदेओस् । तपाईको कलम जसमा शक्ति छ, यस महान् उद्देश्यको प्राप्तिका लागि चलोस् भन्ने मेरो आग्रह छ ।
(१९८१ मे (वि.सं. २०३८ जेठ) स्रोतः प्रतिध्वनि साप्ताहिक, २०३८ साल जेठ १८, २१ र ३० गते, अन्तर्वार्ताकारः कवि एवं पत्रकार ईश्वरबल्लभ)
“उग्रवाद र अराजकताबाट देश बचाऔँ !”, विश्वेश्वरप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला–राजनीतिक अभिलेख (काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार, २०६६)