२००७ सालको जनक्रान्तिको उद्देश्य जनताबाट निर्वाचित प्रतिनिधिद्वारा संविधान बनोस् र त्यसपछि चुनिएका जनप्रतिनिधिले शासन गरून् भन्ने थियो। दुर्भाग्यवश त्यो हुन पाएन। बरु एकै पटक २०१५ साल फागुन ७ गते पहिलो संसदीय चुनाउ भयो। त्यो चुनाउले नेपाली कांग्रेसलाई दुई तिहाइ बहुमत दिलायो। यहाँनिर जनताको सामूहिक विवेकले संसद्‌मा अलग खालको परिदृश्य बनाइदिएको थियो। त्यो के थियो भने नेपाली कांग्रेस बाहेकका सबै राजनीतिक दलका नेता चुनावमा पराजित भएका थिए।

त्यसबेलाको जल्दोबल्दो पार्टी मानिएको संयुक्त प्रजातान्त्रिक पार्टीका अध्यक्ष डा. केआई सिंह हारेका थिए। देशमा प्रजातान्त्रिक आन्दोलनको पहिलो बिगुल फुक्ने टंकप्रसाद आचार्य, राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी, नेपाल कम्युनिस्ट पार्टीका महामन्त्री केशरजंग रायमाझी र अर्का नेता पुष्पलालसमेत पराजित भए। त्यसले राजनीतिक सन्तुलन खल्बल्याइदिएको थियो । एक ढंगले भन्नुपर्दा जनताले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पूर्ण विश्वास गरे र त्यसपछिका प्रजातान्त्रिक प्रक्रिया उनकै नेतृत्वमा अघि बढोस् भन्ने चाहे।

चुनाउ परिणामअनुसार गठित त्यो संसद्‌मा अनौठो दृश्य देखिन्थ्यो। त्यो बेलामा प्रकाशक गोपालदास श्रेष्ठको नेतृत्वमा रहेको कमनर प्रकाशनले तीनवटा दैनिक पत्रिका छाप्थ्यो। म त्यसबेला १६ वर्षको थिएँ र त्यो प्रकाशनमा आबद्ध थिएँ। जवान केटाहरूलाई सिकाउने र प्रोत्साहित गर्ने स्वभाव श्रेष्ठको थियो। त्यसले नेपालको पहिलो अंग्रेजी दैनिक ‘कमनर’ निकाल्थ्यो त्यसको श्रेष्ठ आफैं सम्पादक हुनुहुन्थ्यो। अर्को नेपाली भाषामा ‘दैनिक जनता’को सम्पादक मलाई बनाउनुभएको थियो।

अर्को हिन्दी ‘नेपाल टाइम्स’ निस्किन्थ्यो। मेरो काम दैनिक जनताको सम्पादनका साथै कमनरका लागि समाचार संकलन पनि थियो। त्यतिबेला सम्पादकीय विभागमा अत्यन्त थोरै मानिस हुन्थे। तीनवटा दैनिकका लागि हामी तीन जनामात्रै थियौं त्यहाँ। त्यसैले त्यतिबेला संसद्को पहिलोदेखि अधिकांश बैठकमा म उपस्थित भएको छु।

यसरी भारतीय समाजवादी नेताहरूले सप्तरीमा बसेर अंग्रेजविरोधी आन्दोलन चर्काइरहेकामा भारतीय बि्रटिस सरकारलाई सह्य हुने कुरा थिएन। बि्रटिस सरकारले जयप्रकाश र लोहियाहरूको टाउकाको मूल्य तोक्यो- जिउँदै ल्याउनेलाई चार लाख र मृत बुझाउनेलाई दुई लाख रुपियाँ। राणा सरकारलाई पनि ठूलो दबाब दियो।

यसरी भारतीय समाजवादी नेताहरूले सप्तरीमा बसेर अंग्रेजविरोधी आन्दोलन चर्काइरहेकामा भारतीय बि्रटिस सरकारलाई सह्य हुने कुरा थिएन। बि्रटिस सरकारले जयप्रकाश र लोहियाहरूको टाउकाको मूल्य तोक्यो- जिउँदै ल्याउनेलाई चार लाख र मृत बुझाउनेलाई दुई लाख रुपियाँ। राणा सरकारलाई पनि ठूलो दबाब दियो।

बीपी प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू नेपालको दोस्रो भ्रमणमा आउनुभयो। बीपी पनि भारत जानुभयो। उहाँकै निमन्त्रणामा सोभियत संघका राष्ट्रपति रुस्लोभ आफ्ना शक्तिशाली प्रधानमन्त्री ओजलोभलाई लिएर २०१६ माघ २० गते नेपाल आउनुभएको थियो। नेपालमा युरोपेली नेता वा विश्वशक्ति राष्ट्रका प्रमुखले भ्रमण गरेको यो पहिलो अवसर थियो। त्यसपछि आजसम्म सोभियत संघबाट त्यो स्तरका नेताको भ्रमण भएको छैन।

त्यसपछि २०१७ साल वैशाखमा चीनका प्रधानमन्त्री चाउ एनलाई नेपाल आउनुभयो। त्यो भ्रमण दुईवटा कारणले महत्त्वपूर्ण रह्यो। पहिलो नेपाल र चीनबीचमा शान्ति र मैत्री सन्धि हुनु र दोस्रो आजसम्ममा चाउएनलाई मात्र त्यस्ता विदेशी पाहुना हुनुभयो, जसले काठमाडौं बाहिर भ्रमण गर्नुभएको थियो। उनले एक रात पोखरामा बिताउनुभयो र शान्ति तथा मैत्री सन्धि पोखरामै भएको थियो।

बीपी कोइराला राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुभयो र त्यो पहिलो त्यस्तो अधिवेशन थियो, जहाँ विश्वका सबै राष्ट्रको प्रतिनिधित्व भएको थियो। त्यहीँ उहाँको अमेरिकी राष्ट्रपति आइजनहावरसँग महत्त्वपूर्ण कुराकानी भयो। विदेश सम्बन्धको त्यस्तो अवस्था नेपाल सधैं एक्लिएर बसिरहोस् भन्न चाहनेका लागि प्रिय भएन। त्यसैबेला २०१६ साल चैतमा नेपालले पाकिस्तान र २०१७ साल वैशाखमा इजरायलसँग पनि दौत्यसम्बन्ध कायम गर्‍यो। जुन अत्यन्त अर्थपूर्ण थियो। पाकिस्तानसँगको सम्बन्धले हामी दक्षिण एसियाली अन्य मुलुकसँग पनि सम्बन्ध राख्ने बाटो खुल्यो।

इजरायल त्यतिबेला अछूत मुलुक थियो। धेरैले सम्बन्ध राख्नै नचाहेको इजरायलसँग सम्बन्ध राखेर नेपाल आफ्नो नीति आफैं निर्धारण छ भन्ने सन्देश बीपीले दिएका थिए। जुन विभिन्न तत्त्वहरूले रुचाएनन्। स्थिति कस्तो भयो भने भारतका तत्कालीन विदेश सचिव एवं भारतका पहिलो सुरक्षा सल्लाहकार जेएन दीक्षितले आफ्नो पुस्तक ए क्रस बोर्डरमा ‘बीपी कोइरालाले गरेका सम्बन्ध विस्तारका कामहरूबाट भारतको मनमा चिसो पस्यो’ भन्ने उल्लेख गरेका छन्। त्यसरी बाह्य परिस्थिति बीपीका लागि प्रतिकूल हुँदै गएको थियो।

ठीक त्यसैबेला देशभित्रको परिस्थिति बिग्रिन जान थालेको थियो। २०१७ साल कात्तिक १७ गते गोरखामा योगी नरहरिनाथको नेतृत्वमा ‘जिल्ला कब्जा गर्ने’ अभियान थालियो। त्यस क्रममा सातजनाको मृत्यु भयो भने ११ जना घाइते भए। त्यसको जाँचका लागि बीपीले तत्कालीन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई पठाउनुभयो। र यहाँ पत्रकारको रूपमा मलाई पनि पठाउनुभएको थियो। त्यतिबेला गोरखा पुग्न पालुङटारसम्म विमानमा जानुपथ्र्यो र सँगैको मर्स्याङ्दी नदी पार गरेपछि दुई दिन घोडामा हिँडेपछि सदरमुकाम पुगिन्थ्यो।

त्यहाँ पुगेर घटनाको विवरण लिने र छानबिन गर्ने काम भयो। छानबिनले त्यो अभियान निर्वाचित सरकारलाई अपदस्त गर्ने उद्देश्यका साथ चालिएको थाहा भयो। सुरुमा गोरखा कब्जा गर्ने र काठमाडौं हान्ने उट्पट्याङ योजनाअन्तर्गत त्यस्तो गरिएको रहेछ। योजना उट्पट्यांग भए पनि जनतामा भ्रम फैलिसकेको थियो। ढुंगामुढा आदि लिएर ठूलो संख्यामा जनमानस उपस्थित भएर अघि बढेको रहेछ।

त्यही बीचमा दाङमा एक महिलामाथि दुर्व्यवहार गरिएको निहुँमा ठूलै तनाव सिर्जना भएपछि प्रहरीले लाठीचार्ज गरेको रहेछ। त्यतिबेलाको नेपालमा प्रहरीले लाठी चार्ज गर्ने, घाइते हुने वा एक दुई जनाको मृत्यु हुने घटनाले ठूलै हल्लीखल्ली गराउँथ्यो। २०१६ साल फागुनमा हाम्रो सीमाको गस्तीमा रहेको टोलीलाई चिनियाँ सैनिकले आक्रमण गरेछन्। त्यसक्रममा एक सैनिक मारिए र अरू गिरफ्तार गरिएछन्। त्यसले नेपाल र चीनबीच ठूलै समस्या सिर्जना गर्ने अवस्था बन्यो। त्यसलाई समाधान गर्न बीपी आफैं लाग्नुभयो र चिनियाँ समकक्षी चाउ एन लाइले पनि उहाँलाई साथ दिनुभयो।

जसका कारण केही दिनमै त्यो समस्या समाधान भयो। चीनले त्यो घटनाका लागि माफी माग्दै क्षतिपूर्ति पनि दियो। समस्या त समाधान भयो तर देशभित्र उत्तेजना सिर्जना गर्न खोज्नेहरूका लागि त्यो घटना अर्को निहुँ पनि हुन गयो। त्यसबीचमा नेपालगन्ज र दाङमा केही लुटपाटका घटना भए। त्यसबाट बीपी चिन्तित हुनुभयो। नेपालगन्जमा आफैं जाने र दाङमा गृहमन्त्रीलाई पठाउने निर्णय गर्नुभयो। मलाई पत्रकारको रूपमा ‘गृहमन्त्रीसँग जाऊ’ भन्नुभयो। मैले चाहिँ गोरखामा गृहमन्त्रीसँग गइसकेका कारण ‘फेरि किन गृहमन्त्रीसँगै जानु? तपाईंसँग जान्छु’ भनें। उहाँले जवाफ भने दिनुभएको थिएन।

२०१७ साल मंसिरतिरको कुरा थियो त्यो।

त्यसपछि पुस १ गते आइपुग्यो। त्यतिबेलाको काठमाडौंमा पुसको महिना धेरै चिसो हुन्थ्यो। १ गते पनि काठमाडौं कुहिरोले डम्म ढाकिएको थियो। असाध्यै चिसो थियो। त्यस दिन बिहान मलाई बीपीले नेपालगन्ज र दाङ जानेबारे कुरा गर्न बोलाउनुभएको थियो। म त्यतिबेला अरू यातायात साधन नभएकाले नक्सालस्थित जन्मघरबाट प्रधानमन्त्री निवासमा (अहिले परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग) साइकल चढेर पुगेँ। घरबाहिरको सानो बगैंचामा भेट्न आउनेको भीड थियो।

एक छिनपछि उहाँका निजी सचिव केशवराज पिँडाली बाहिर निस्किनुभयो र मलाई ‘बीपी लुगा फेर्दै हुनुहुन्छ, माथि जानोस्’ भन्नुभयो। मलाई प्रधानमन्त्री निवासमा रोकतोक खासै नहुने भएकोले सरासर उहाँको कोठामा पुगेँ। उहाँले मलाई ‘तिमी दाङ नै जाऊ नेपालगन्ज होइन’ भन्नुभयो। मैले दोहोर्‍याएर ‘मलाई त्यहाँ जाने इच्छा छैन तपाईसँगै नेपालगन्ज जान्छु’ जान्छु भनेँ।

‘दिउँसो सिंहदरबारमा आऊ त्यहाँ म तिमीले गर्नुपर्ने काम बताउँछु’ भन्दै उहाँ ओर्लिनुभयो र मोटर चढेर हिँडनुभयो। म त्यहाँबाट घर आएँ। त्यतिबेला थापाथलीमा रहेको द्रोणशमशेरको घर अगाडि ठूलो ठाउँ खाली थियो। अहिले त्यहाँ घरैघर बनेका छन्। त्यो खुला ठाउँमा तरुण दलको अधिवेशन थियो।

बीपीले मलाई ‘तिमी त्यहाँ आउनु पर्दैन, सीधै सिंहदरबार आए हुन्छ’ भन्नुभएको थियो। म घरबाट सिंहदरबार पुगेँ तर मलाई पश्चिम ढोकाबाट ‘आज कसैलाई पनि भित्र नपठाउनू भन्ने आदेश छ’ भन्दै भित्र पस्न दिइएन। म त्यहाँबाट फर्केर नरदेवीस्थित कमनरको कार्यालयमा पुगेर नियमित काम गर्न थालेँ।

हामी त्यो दिन जनता, कमनर र नेपाल टाइम्समा तरुण दलको अधिवेशनमा प्रधानमन्त्रीले गर्ने भाषणलाई मुख्य समाचार बनाउने योजनामा थियौं। तर त्यस कार्यक्रममा संवाददाता कोही नगएकोले नेपाली कांग्रेसकै एक नेतालाई फोन गरेर विवरण लिने योजनामा गोपालदास श्रेष्ठले रिसिभर उठाउनुभयो। त्यतिबेला डायल गरेपछि अपरेटरले उठाउँथ्यो र चाहेको नम्बरमा सम्पर्क गराइदिन भन्नुपथ्र्यो। तर रिसिभरमा कुनै आवाज सुनिएन। फोन बिग्रिरहने भएकाले त्यतिबेला पनि बिग्रेछ भन्ने ठान्यौं।

केही छिनपछि प्रधानमन्त्री आदि गिरफ्तार भएर रे भन्ने हल्ला आयो। पुष्टि हुन सकेको थिएन। त्यहीबीचमा महेन्द्रविक्रम शाह आइपुग्नु भयो। शाह २००५ सालमा कलकत्तामा गठित नेपाल प्रजातान्त्रिक कांग्रेसका संस्थापक हुनुहुन्थ्यो। पछि त्यो नेपाल राष्ट्रिय कांग्रेससँग मिलेर २००६ सालमा नेपाली कांग्रेस बनेको थियो। उहाँ मन्त्री र भारतको राजदूत पनि हुनुभयो। उहाँ बेलाबेलामा कमनरको कार्यालयमा आउनेमात्र होइन गोपालदास विदेश गएको बेला कमनरको सम्पादकीय पनि लेख्नुहुन्थ्यो।

उहाँले सुनाएपछि थाहा पायौं टेलिफोन बिग्रिएको होइन कु भएको रहेछ। त्यसको केही दिनअघि मात्र बर्मा (अहिलेको म्यानमार) मा कु भएको थियो। प्रधानमन्त्री उन उनलाई सैनिक क्रान्तिबाट अपदस्त गरिएको थियो। हामीले त्यस्तै नेपालमा पनि भयो भन्ठान्यौ। अब पत्रिका के गर्ने? निकाल्ने कि ननिकाल्ने? गोपालदास र श्रेष्ठको बीचमा छलफल भयो। संविधान आउनुभन्दा अघिदेखि नै अधिकार पाइएकोले निकाल्नुपर्छ भन्ने मत पनि आयो। फेरि अर्कोतर्फ जोखिम किन लिने? भन्ने कुरा पनि भयो। आखिरमा अखबार ननिकाल्ने सहमति भयो।

त्यसपछि ‘शाही घोषणा हुन लाग्यो रे’ भन्ने हल्ला पनि त्यता आउन थाल्यो। अखबार ननिस्किने भएपछि शाह र म नयाँसडकतिर जानका लागि नरदेवीबाट हिँड्यौं। घोषणा रेडियोबाट हुने भएकोले त्यो सुन्न रेडियो भएको ठाउँमा पुग्ने उद्देश्य थियो। नयाँ सडकमा अहिलेको क्रिस्टल होटेलको सामुन्ने कांग्रेस समर्थक सिद्धिलाल सिंहको रेडियो पसल थियो। त्यहाँ रेडियो सुन्न पाइन्छ भन्ने हामीलाई थियो। तर नरदेवीबाट नयाँ सडकसम्म आउँदा सबै पसल बन्द भइसकेका थिए। बाटोमा कोही पनि हिँडिरहेका थिएनन्। एक खालको त्रासद अवस्था थियो।

हामी पुग्दा सिंहको रेडियो पसल पनि बन्द रहेछ। नयाँसडकबाट खिचापोखरी जाने मोडमा अमेरिकन लाइब्रेरी थियो। हामीले त्यहीँ पसेर शाही घोषणा सुन्यौं। सुनिसकेपछि हामी त्यहाँबाट निस्कियौं। शाहलाई ज्ञानेश्वरस्थित घरमा छोड्दा पाँच जति बजिसकेको थियो। मलाई ‘प्रधानमन्त्रीलाई गिरफ्तार गरेपछि परिवारमा के भइरहेको होला?’ भन्ने सोचाइ आयो।

म ज्ञानेश्वरबाट त्रिपुरेश्वरतिरै फर्किएँ। त्यहाँ पुग्दा बीपी पत्नी सुशीलासहितका महिलामात्रै देखिए। प्रधानमन्त्री निवासबाट सुरक्षाकर्मी हिँडिसकेका थिए। सुनसान थियो र अँध्यारो पनि भइसकेको थियो। बीपी गिरफ्तार हुनु भइसकेको थियो भने विराटनगरबाट हिँडेका तारणी र गिरिजाकहाँ हुनुहुन्छ पत्तो भइसकेको थिएन।

बीपी पत्नी राजनीतिमा रुचि देखाउनु हुन्नथ्यो। तर साहसी र भद्र हुनुहुन्थ्यो। मैले अब के गर्ने? भन्ने कुरा गरेपछि उहाँले भन्नुभयो, ‘छोडिदिनुस् राजनीतिमा यस्तै हो, बरु उहाँलाई कार्यक्रमबाटै गिरफ्तार गरेर लगियो ओढ्ने ओछ्याउने केही छैन। पुर्‍याइदिनु पर्‍यो’। तर लाने कसरी? त्यहाँ कुनै यातायातको साधन पनि थिएन। बीपीलाई सिंहदरबार लगियो रे भन्नेकुरासम्म सुनिएको थियो। पछि एउटा भरिया खोजेर लैजाने निधो भयो। तर मान्छे सबै त्रस्त थिए। बीपीका सामान कसले बोकेर लैजाने? मानिस आँटिरहेका थिएनन्।

पछि उहाँ प्रधानमन्त्री हुनुअघि बस्नुभएको नक्सालस्थित डेरामा उहाँका लागि दूध ल्याउने न्हुच्छेमानलाई सम्झेँ। नक्सालको नारायणचौर पुगेर उसलाई त्रिपुरेश्वर ल्याइयो। सुशीलाले ‘तिमी पनि सँगै गइदेऊ ‘ भन्नुभयो। म उसलाई सामान बोकाएर सिंहदरबारको पश्चिम ढोकामा पुगेँ। ढोकाको सिपाहीले लिन आनाकानी गर्‍यो। कता कता सोध्यो र हामीलाई ‘सामान छोडिदिनुस् पुर्‍याइदिउँला’ भन्यो। हामीले बीपीका लागि लगिएका ओढ्ने आदि त्यही ढोकामा छोडिदियौं। त्यसपछि मात्र घटनाको सबै विवरण थाहा भयो।

त्यो दिन देशमा आइपुग्नुको कारण के थियो त? भन्ने प्रश्नको जवाफ खोज्दा म मातृकाप्रसाद कोइरालाले लेख्नुभएको ‘अ रोल इन रिभोलुसन’मा वरिष्ठ अधिवक्ता गणेशराज शर्माले लेख्नुभएको भूमिका सम्झन्छु। त्यहाँ शर्माले आफूलाई पुस १ गते पछि राजाको परराष्ट्रमन्त्री भएका ऋषिकेश शाहले सुनाएको भन्दै नेहरूले ‘हामीले बीपीलाई हटाऊ पो भनेको थुन भनेको त थिइन नि’ भनेको उल्लेख गरेका छन्। त्यसले धेरै कुरा खुलाउँछ। तर घटनाको निन्दा भन्ने विश्वभर नै भएको थियो।

आज ५३ वर्षपछि पुस १ गतेलाई हेर्दा के लाग्छ भने बीपीको लोकप्रिय शक्ति र महेन्द्रको परम्परागत शक्ति मिलेर त्यो बेलाको संविधानअनुसार चलेको भए नेपाल अहिलेसम्म विकसित देशको दाँजोमा पुगिसकेको हुन्थ्यो। दुई शक्तिबीचको द्वन्द्व व्यवस्थापन गर्न असफल हुँदा पुस १ गतेको दुर्घटना हुन पुग्यो। त्यो द्वन्द्व सुरुमै देखिएको थियो चुनाव भएको दुई महिनापछि मात्र उहाँलाई सरकार गठनका लागि बोलाइयो।

त्यसबाहेक राजाको महत्त्वाकांक्षा र कांग्रेस पार्टीभित्र तथा बाहिरका विभिन्न तत्त्वले त्यो द्वन्द्व बढाउने काममात्र गरे। राजाले २०१६ साल मंसिरमा पश्चिमाञ्चल भ्रमण गर्दा त्यो द्वन्द्व सबैभन्दा प्रष्टसँग देखेको थिएँ मैले। पोखराबाट सुरु भएको भ्रमणमा पत्रकारका रूपमा मसँगै थिए। नेपालगन्जसम्म भ्रमण पुग्दा दुई महिनासम्म लाग्थ्यो। बीपी पोखराबाट दाङसम्म हुनुहुन्थ्यो। त्यसपछि उहाँ भारत जानुभयो र त्रिवेणीप्रसाद प्रधान र तुल्सी गिरी सवारीमन्त्रीका रूपमा राजासँगै रहे।

त्यो भ्रमणमा दुई व्यक्तित्व ठाउँठाउँमा भिडेको थियो। गल्कोटमा पुग्दा दुईवटा मञ्च नै बनेको थियो। एउटा मञ्च गोरखा परिषद्ले बनाएका थिए भने अर्को नेपाली कांग्रेसका कार्यकर्ताले। बीपीले हस्तक्षेप गरेर राजाको सवारी कांग्रेसी कार्यकर्ताले बनाएको मञ्चतिर लैजानुभयो।

भाषणमा पनि बीपीको कुरा ‘आफू जनताको शक्ति प्राप्त प्रधानमन्त्री भएको’ बताउनुहुन्थ्यो भने राजा महेन्द्रको कुरा ‘म परम्परागत वा दैवी शक्ति हुँ’ भन्ने खालको हुन्थ्यो। त्यस्तो व्यक्तित्व भिडन्तले नेपालगन्ज पुग्दा बीपी नेतृत्वको सरकारलाई चेतावनी दिने खालको थियो।

त्यो नै नेपालको इतिहासमा पहिलो राजाको भाषण थियो, जसलाई तत्कालीन सरकारले सार्वजनिक हुन दिएन।

(रूपेश आचार्यसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: २०७० मंसिर २९, शनिबार, अन्नपूर्ण पोस्ट